काठमाडौं, ९ चैत । सरकारले भारतीय सीमाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका अनुसार ती नागरिकको निगरानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबार निर्देशन दिइएको हो ।
देशभरका प्रमुख जिल्ला अधिकारी,नेपालप्रहरी र सशस्त्र प्रहरीलाई परिपत्र गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि त्यस्तो निर्देशन दिइएको हो । मन्त्रालयको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे–नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले निर्देशन दिएको छ।