काठमाडौं, ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । बिश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
पूर्व निर्धारित कार्यतालिका अनुसार चैत ६ गते बिहिवारदेखि एसईई शुरु गर्ने सरकारको तयारी रहेको थियो । सरकारले एसईईका लागि सम्पूर्ण तयारी समेत पुरा गरेको जनाएको थियो ।
तर परीक्षा शुरु हुनु एक दिन अघि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पछि परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।