काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहार सफा गर्न सबै एकजुट भएर अगाडी बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो ।
सम्बोधनका क्रममा सिटौलाले अहिले कांग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडी बढिरहेको टिप्पणी गर्नुभयो । नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भन्नुभयो, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहोर छर्दै हिंड्छ । एउटाले फुलको सर बटुल्दै हिंड्छ । एउटाको परोपकारी गुण छ । एउटाको ध्वंशकारी गुण छ ।’
प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशिल बनाउनुपर्ने बताउनुभयो । परिवर्तित कांग्रेसको काँधमा कम्युनिष्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उहाँले आग्रह गनुभयो । आगामी निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उहाँले आग्रह गर्नुभयो ।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म कृयाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताउनुभयो । नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो ।
महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाई छ । जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।
थापाले भन्नुभयो, ‘महामन्त्री सचिवालयको प्रमुख हो । यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर त्यहाँबाट महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो । समायोजनको कुरा आयो ३०, ३२ जिल्ला बाहेक समायोजन भएन भनेर भन्न मिल्छ ? समायोजन हुन सकेको छैन भने सातै दिन २४ घण्टा नै पार्टी कार्यालय जानुप-यो त्यहाँ बस्नुप-यो । प्रतिनिधि पठाएर काम गर्नुप-यो । यति समयसम्म मलाई काम चाहिन्छ भन्नुप-यो ।’
काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलामा नेताहरुले आफुहरु कांग्रेसमा सुधार गर्दै अगाडी बढ्ने अभियानमा रहेको बताएका छन् ।