पोखरा, २९ फागुन । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो ।
मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक–एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए । अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।