महोत्तरी, २८ फागुन । अहिले बाँस र बेतको प्रयोग डोका, डाला, नाङ्लो, मान्द्रो लगायतका सामान मात्र होइन आकर्षक र आधुनिक फर्निचर निर्माणमा समेत बढ्दो छ । भारतबाट झापा आएका केहिले बाँस र बेतका सजावटका सामान वनाएर आरामसंग जिविकोपर्जन गरिरहेका छन् ।
रोजगारीका लागि बिदेशिने नेपालीहरुको संख्या बढीरहेकोबेला भारतबाट आएका गोपाल दास विगत चार वर्षदेखि झापाको काँकरभिट्टामा बेत बाँसका सामग्री बनाएर बसिरहेका छन् ।
भारतको सिलगुडीस्थित सेवकमोडबाट आएका उनले बेतका विभिन्न सामग्री निर्माण गरेर मासिक ३० हजार रुपैयाँ भन्दा बढी बचत गर्दै आएका छन् । बेतबासका विभिन्न सामग्री बनाउन ३० बर्षको अनुभव बोकेका गोपाल दास भारतमा भन्दा नेपालमा कमाई राम्रो हुने देखेर चार बर्ष अघि झापा आएका हुन् ।
सानै उमेरबाट घरमै वेत बाँसका विभिन्न साम्रगी बनाउन सिकेका उनले लामो समयसम्म भारतका विभिन्न ठाउँमा काम गरे । तर, भारतमा भन्दा नेपालमा ज्याला धेरै पाइने भएपछि उनी मात्र होइन सोही ठाउँका कृष्ण दासपनि सोही उद्योगमा काम गर्दै आएका छन् ।
पछिल्लो समय वेतका सामाग्रीले बजार पाएपछि मेचीनगर– ६ काँकरभिट्टामा झण्डै दर्जनको हाराहारीमा वेत बासका सामग्री बनाउने उद्योग सञ्चालनमा छन् । ति उद्योगले दिनहुँ बेतका सामग्री निर्माण गर्दै बजारको मागलाई धानिरहेका छन् ।
बेतको सामग्री निर्माण गर्ने नेपाली कालिगढ नहुँदा भारतीय कालिगढबाट अधिकांश उद्योगले बेतका सामग्री निर्माण गरेर मनग्य आम्दानी गरिरहेका छन् । झापाको मेचीनगरमा मात्रै बेत वासका उद्योग दर्जनको हाराहारीमा छन् ।
ती उद्योगमा झण्डै ५० जनाको हाराहारीमा भारतीय कालिगढ कार्यरत छन् । नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भइरहँदा हातमा सीप भएका भारतीय नागरिकले नेपालबाट वार्षिक लाखौं रुपैयाँ विदेश लगिरहेका छन् ।