देशको पूँजी केही व्यक्तिको अधिनमा रहेकाले आर्थिक विकास सुस्त गतिमा : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

देशको पूँजी केही व्यक्तिको अधिनमा रहेकाले आर्थिक विकास सुस्त गतिमा : भट्टराई

baburam bhattarai

काठमाडौं, २४ फागुन । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताउनुभएको हो ।

उहाँले सरकार देशको आर्थिक विकास भन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रीत भएको आरोप समेत लगाउनुभयो । उहाँले बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताउनुभयो ।

उहाँले पूँजीको पहुँच साना र मझौला व्यवसायीहरुमा नपुगेसम्म आर्थिक विकास नहुने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले हाम्रो बैंकहरुमा झण्डै हाम्रो कुल गार्हस्थ उत्पादन बराबर ३३/३४ खर्ब रुपैयाँ पूँजी रहेको छ तर त्यसको प्रयोग कसले गरेको छ भने जम्मा सय दुईसय ठूला घरानाहरु छन् तिनीहरुले ३३/३४ खर्ब रुपैयाँ प्रयोग गरिराखेका छन् । जबकी यहाँ ५०औं लाख साना र मध्यम उद्योग व्यवसायीहरु छन् उनीहरुले सामान्य बिउ पूँजी समेत प्राप्त गर्न सकेका छैनन् । त्यसो भएको हुनाले सबैभन्दा पहिले हामीसँग उपलब्ध जुन पूँजी छ त्यसको ठिक ढंगले मुख्यत साना र मध्यम व्यवसायीहरुमा हामीले ठिक ढंगले वितरण गर्ने व्यवस्था हुन प¥यो ।’

उहाँले प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘विदेशबाट श्रम बेचेर पैसा ल्यायो अनि विदेशकै सामान मगायौं अनि यहाँ खाएर फोहोर गर्ने मात्रै विदेशमा चाहिं श्रम बेच्ने त्यसले कमाएकोले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन ।’

देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पूँजीको निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राष्ट्रिय औद्योगिक पूँजीको विकास गरी समाजवादको लक्ष्य प्राप्त गर्ने दिशामा जानुपर्ने बताउनुभयो ।

आर्थिक विकास गर्ने अवसर सरकारसँग भएपनि काम नगर्दा पछिल्लो दुई वर्ष खेर गएको उहाँले बताउनुभयो । कछुवा गतिको आर्थिक विकास जहिलेपनि हुने बताउँदै तिब्र गतिको आर्थिक विकासका लागि सरकार असफल भएको उहाँले बताउनुभयो ।

ताजा समाचार