काठमाडौं, २१ फागुन । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतका परियोजनामा अनियमितता भएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको बुधबार बसेको बैठकले ‘तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ अनुसार योजनाहरुको छनौट र कर्यान्वयन नभएको गुनासो आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएको हो ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सञ्चालनमा आएका कार्यक्रमहरुमा व्यापक अनियमितता भएको उजुरी परेपछि संसदको राज्य व्यवस्था समितिले बुधवार त्यसमा छलफल गरेको छ ।
छलफल पछि समितिकी सभापति शशी श्रेष्ठले समयमा काम सम्पन्न हुन नसकेको गुनासो समेत आएकोले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद अमरेश कुमार सिंहले तराई मधेश समृद्धि कार्यक्रमले गरिब जनतालाई समृद्ध बनाउन भन्दा पनि केही गिटी क्रसर व्यापारी र कार्यकर्तालाई मात्र समृद्ध बनाएको टिप्पणी गर्नुभयो ।
सांसद यशोदा गुरुङ सुुवेदीले समृद्धि आफैमा उत्पादनसँग जोडिएको नाउँ भएको तर उक्त कार्यक्रम अनुत्पादक क्षेत्रमा केन्द्रीत भएकोले सच्याउनुपर्नेमा जोडदिनुभयो ।
सांसद डिला संग्रौलाले तराई मधेश समृद्धि कार्यक्रममा मापदण्ड पुरा नभएका परियोजना समेत कार्यान्वयन गरिएको पाइएको बताउनुभयो ।
बैठकमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले परियोजनामा केही कमिकमजोरी भएको भए अनुगमन बढाई आगामी वर्षदेखि सच्याउने प्रतिबद्धता ब्यक्त गर्नभयो ।
त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले सबै योजनाहरु राष्ट्रिय योजना आयोगबाट जाने भएपनि तराई मधेश समृद्धि कार्यक्रमको योजना छनौट आयोगबाट नभएको बताउनुभयो ।
सांसद प्रभु साहले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सञ्चालनमा आएका कार्यक्रमहरुमा व्यापक अनियमितता भएको उजुरी समितिमा गरेपछि समितिले छलफल गरेको हो ।