काठमाडौं, १८ फागुन । अनियमितता र कुशासनले मुलुक आक्रान्त छ । विधि र पद्दती मिचेर स्वेच्छाचारी गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । शक्ति र पदको चरम दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गर्न गलत होड छ । गलत होडको अन्त्य गर्न उच्च तहमा पुग्ने नेतृत्वको सम्पत्ती खोजिनु पर्ने आवाज उठ्न थालेको छ ।
नेपालमा उच्च पदमा पुग्ने र पदको चरम दुरुपयोग गरेर अकुत सम्पत्ती जोड्ने गलत प्रतिस्पर्धा छ । शक्तिको आडमा सम्पत्ती जोड्ने धन्दा वर्षाैदेखि छ । यस्तो प्रवृत्तिले नेपाल जस्तो लोकतन्त्रमा बामे सर्दै गरेको गरिव मुलुकका लागि निकै घातक हुन्छ ।
राजनीतिका नाउँमा व्यवसाय भएपछि उच्च तहमा पुग्नेहरुको सम्पत्ती खोजिनुपर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा प्रस्ताव गर्नुभएको छ ।
जनताको सार्वभौम मत लिएर सिंहदरबार छिर्ने र जनताको मतको दुरुपयोग गर्ने प्रवृत्ति लामो समयदेखि नेपालमा कायम छ । मुलतः राजनीतिक नेतृत्व नै यस्तो प्रवृत्तिबाट अलग हुन नसक्दा स्थिर राजनीतिपछि पनि मुलकमा सुशासन संस्थागत हुन सकेको छैन । मुल नेतृत्व नै भ्रष्ट भएपछि सिंगो मुलुक भ्रष्टाचारमा डुबेको आम नागरिकले दुखेसो गर्दै आएका छन् ।
मुलुकको मुहार फेर्न राजनीतिमा छिरेकाहरु सत्तामा पुगेपछि निजी स्वार्थमा लत्पतिदै आएका छन् । आधारभूत नागरिक सामान्य सिटामोल पाउने अवस्था छैन । तर तिनै नागरिकको भोटले सिंहदरबार छिरेकाहरुको पजेरोदेखि महल खडा भएका छन् ।
सामान्य जीवन शैलीबाट राजनीतिमा छिरेकाहरु रातारात महलपति भएका छन् । पदको दुरुपयोग गर्नेहरुमाथि नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि छ । संवैधानिक आयोग अख्तियार भएपनि राजनीतिक प्रभावमा अख्यितारलाई छाँयामा पारिदै आएको छ । अख्तिायारलाई खुम्च्याएर आफ्नो अपराध लुकाउन दलहरु नै सक्रिय छन् ।
पद र शक्तिको आडमा निजी सम्पत्ती कुम्ल्याउने होड भएपछि मुुलुकमा सुशासन कायम हुन सकेको छैन । यसर्थ उच्च पदमा पुग्नेहरुको सम्पत्ती छानविन गरि सुशासन कायम गर्न जरुरी छ ।