काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ ।
शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्नु भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीको आज ६९ औं जन्मदिन पनि हो । आफ्नो जन्मदिनको अवसर पारेर ओलीको पुस्तक सार्वजनिक गरिएको हो ।
समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भएपनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभएको छ । अरुलाई आफुभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उहाँले भन्नुभयो, ‘अर्काको कापी च्यातेर आफु अगाडी हुने होइन् । यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नती गर्छ । अरुको विगारेर आफु सप्रिने होइन् । अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफु पनि सप्रिने बाटो हामीले लिनुपर्छ ।’
देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उहाँले जस्तोसुकै संकट आएपनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताउनुभएको छ । दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताउनुभयो ।
जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पु-याउन सकिएन भने केही गर्न नसकिने बताउनुभयो ।