काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताउनुभएको हो ।
उहाँले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताले भ्रष्टाचार र लुटतन्त्र मच्याउनका निम्ति शासन सत्तामा नपुरयाएको बताउनु भयो ।
उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा नभई व्यवहारमा अपनाउने पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यहि चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै यस्ता कुराले आफूलाई कुनै फरक नपर्ने बताउनुभयो ।