काठमाडौं, ६ फागुन । पूर्वसांसद भागवत ज्ञवालीको उपचारका क्रममा निधन भएको छ । ज्ञवालीको मंगलवार ७६ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
छाती, फोक्सो र पिसाबमा समस्या देखिएका ज्ञवालीको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । ज्ञवाली २०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत बन्नु भएको थियो । राजनीतिका साथै शैक्षिक व्यक्तित्व एवं समाजसेवीका रुपमा परिचित ज्ञवाली लामो समयदेखि पाल्पाको तानसेनमा बस्दै आउनुभएको थियो । ज्ञवालीलाई आदर्श, निष्ठा र इमानदार नेताका रुपमा चिनिनुहुन्थ्यो ।
ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गहिरो दुख ब्यक्त गर्नुभएको छ । देउवाले बिज्ञप्ति जारी गर्र्दै ज्ञवालीको निधनले कांग्रेसले सच्चा र निष्ठावान नेता गुमाएको उल्लेख गर्नुभएको छ ।