छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्था बुझ्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्था बुझ्न आग्रह

काठमाडौं, २९ माघ । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल बहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गर्नुभएको छ ।

सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमले छाउगोठ भत्काएपछि ती क्षेत्रका महिलाको अवस्था कस्तो छ ? भन्ने विषयमा बुझ्न सरकारलाई आग्रह गर्नुभएको हो ।

सरकार र अभियानकर्ताहरुले छलफल, सेमिनार गोष्टि गरेपनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको बताउँदै उहाँले कर्णालीका महिलाले भोगेका पीडा, छाउगोड बन्नुका बाध्यता के हुन् ? किन त्यो बाध्यताले छाउगोठ बने ? भन्ने कुराको अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

आजसम्म गृहमन्त्रालयले सयौँ छाउगोठ भत्काइएपछि त्यहाँका महिलाले अहिले के गरिरहेका छन् भन्ने कुराको विश्लेषण आवश्यक रहेको भन्दै उहाँले सरकार र अभियानकर्ताहरुको ध्यानआकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजसम्म सयौँ छाउगोठ भत्किएपछि ती महिलाहरुले के गरिरहेका छन् भन्ने कुराको विश्लेषण हुनु जरुरी रहेको छ । सरकार र अभियानकर्ताहरुको ध्यान आकर्षण गर्न चाहान्छु ।’

कर्णालीमा बन्ने घरहरुको अवस्थाका कारणले पनि छाउगोठ छुट्टै बन्ने गरेको उहाँले बताउनुभो । २ तले घरमा एक तलामा गाईगोरु र अर्को एक तलामा भान्सा, पुजाकोठा, सासु ससुरा र छोरा बुहारी बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘भत्काउने कुरा ठिक छ । उनीहरुको अवस्था के हो त ? आज ७० प्रतिशत केन्द्र सरकारी बजेट विनियोजन गरेको छ तर कर्णालीका गाउँमा पुगेको छैन् । कुनै राष्ट्रिय गौरवका आयोजना पुगेका छैनन् । त्यहाँको खानेपानी, सिचाईंका कुनै समस्याहरुका बारेमा केही बोलेका छैनन् ।’, उहाँले भन्नुभयो, ‘अब अभियान चलाउँ । भूकम्पका बेला धेरै क्षति भयो पूनर्निमाणको अभियान चलाइयो । अब भत्केका छाउगोठका मान्छेहरुको घरको अवस्था के छ ? जसको एउटै कोठा छ त्यसको घर बनाउने अभियान चलाउने कि नचलाउने सरकारले ?’

कर्णालीका महिलाहरुलाई अहिलेसम्म स्यानेटरी प्याडको विषयमा समेत जानकारी नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘कर्णालीका महिलाले लगाउने लुगाको पनि विश्लेषण हुनुपर्छ । सहरिया महिला जस्तै सुट, पाइन्ट र टाउजर लाएर हिड्ने हुँदैनन् । धोती, चोलो र गुनिउ लगाएका हुन्छन् । स्यानेटरी प्याड किन्ने पैसा त्यहाँको महिलासँग हुँदैन । कति महंगो छ ? स्यानेटरी प्याड सुनेका पनि छैनन् । स्यानेटरी प्याडलाई सपोर्ट गर्ने लुगा पनि हुँदैन् । त्यो कुरा विश्लेषण गर्ने कि नगर्ने ? ति महिलाहरुका समस्या सम्बोधन हुने की नहुने ? त्यसकारण सरकार नितान्त यी कुरामा अगाडी बढ्नुप¥यो । महिलाको समस्या र घरका समस्यालाई सम्बोधन गर्नेगरी आगामी कार्यक्रममा बजेट छुटयाउनुपर्छ ।’’

उहाँले अभियानकर्ताहरुलाई ठूला होटलमा कार्यक्रम गरेर मात्रै नहुने भएकाले त्यहाँको वास्तविकता बुझ्न पनि आग्रह गर्नुभएको छ ।

ताजा समाचार