काठमाडौं, २३ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भएपनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताउनुभएको छ । संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने निश्चित भएको उहाँले बताउनुभयो ।
बिहीबार काठमाडौंमा ऋण प्रदायक बैंकहरु र आयोजनाबीच दुईपक्षिय सम्झौता समेत भएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय स्रोत जुटाउने चुनौति पनि पुरा भएको बताउनुभयो ।
उहाँले ३० वर्ष लामो प्रयासपछि आयोजना निर्माण हुन लागेकोले देशको अर्थतन्त्रमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले आयोजनाबाट उत्पादित विद्युतको विक्रीका लागि पनि बजारको समस्या नरहेकोले देशले ठुलो आर्थिक लाभ लिने बताउनुभयो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ९ सय क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सबै वित्तीय स्रोत जुटेकोले अव निर्माण कार्यले थप तिब्रता पाउने बताउनुभयो ।
भारतीय लगानीमा निर्माण हुन लागेको यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो । कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत रहेको यो परियोजनामा नेपाल र भारतका बैंकहरुले १ खर्ब रुपैयाँ भन्दा बढी ऋण लगानी गरेका हुन् ।
भारतको स्टेट बैंक अफ इण्डिया (एसबिआई)को नेतृत्वमा पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । आयोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।