काठमाडाैं, २२ माघ । समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाईरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराउनुभएको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताउनुभयो । उहाँले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै उहाँले बैठकमै कविता वाचन गरि सरकारलाई व्यंग्य गर्नुभयो ।
“नेपालीहरु खोज्दैछन् विकास र समृद्धि
अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजार देखी सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगीसक्यो,
शैसब कालमै समृद्धिलाई कोरोना भाईरसले खाईसक्यो ।
समानता स्वतन्त्र शिकिस्त छन् , लोकतन्त्र पनि थलो परिसक्यो
संघीयता, गणतन्त्र छटपटिदै छन् यहाँ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिंदैनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गास, बास, कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?
यहाँ सम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ ?
सरकार,
न्याय र समानताको नारा लगाउँछौ बेसरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छन् गर्यौ कहिलेही खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले सिवाय तिरस्कार र अपमान
तिमिलाई छुट कसरी ? गर्न वाईड वडी र एनसेल काण्ड
पुर्खौंको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो
के गर्यौ सरकार कुखुराको मुल्यले होलिको मुखैमा पिरोलिसक्यो ।”