बाजुरा, २१ माघ । बाजुरा जिल्ला अस्पतालले आफ्नो अतिक्रमण भएको जग्गा खाली गराउन डोजर लगाएको छ । जिल्ला अस्पताल बाजुराको सरकारी जग्गालाई अतिक्रमण गरी बनाइएका घरहरु नहटाएपछि अस्पतालले मंगलबार डोजर लगाएर भत्काएको हो ।
पटक पटक अस्पतालको जग्गा खाली गर्न निर्देशन दिएको भएपनि जग्गा धनीले नमानेपछि उक्त ठाउँमा डोजर लगाएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिले सर्बपक्षिय बैठकले निर्णय गरेको ३० दिन पुरा भएसंगै निजीकरण गरिएको अस्पतालको जग्गामा बनाइएका घरटहराहरुमा डोजर प्रयोग गरिएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि अस्पतालको जग्गामा लालकेशर पाण्डेले बडीमालिका बोडिङ्ग स्कुल सञ्चालन गर्दै आईरहेका थिए । निजि व्यक्तीले सरकारी जग्गा अतिक्रमण गरेको लामो समय भएपनि जग्गा खाली गर्न नमानेपछि डोजर लगाउन बाध्य भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।