’ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको पहिलो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

’ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको पहिलो हार

manang a division

काठमाडौं, २० माघ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो हार व्यहोरेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै मनाङले लिगमा पहिलो हार व्यहोरेको हो ।

च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो । उनले फ्रिकिकबाट गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २–० को सहज जित दिलाए । च्यासलसँगको हारसँगै जारी लिगमा मनाङको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङ १० खेलमा १९ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।

मनाङलाई हराएसँगै च्यासलले लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेको छ । च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ । खेलमा च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दि म्याच चुनिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);