काठमाडौं, २० माघ । संसदको महिला तथा सामाजिक समितिले परोपकारको नाममा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारवाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सोमवार बसेको बैठकले त्यस्ता संस्थाहरुको अनुगमन र पहिचानगरी तत्काल कारवाही गर्न गृहमन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको हो ।
समितिले बालबालिकाको हित प्रवर्दनका लागि खुलेका गैरसरकारी संस्थाहरुको काम कारवाहीमा पारदर्शीता कायम गर्न, पोषणको अवस्था सुधार गर्न, बालअधिकार कुनैपनि कारणबाट खण्डित हुन नदिन पनि निर्देशन दिएको छ ।
त्यसैगरी समितिले नेपाल बाल संगठनलाई संघीय संरचना अनुसार परिवर्तन गर्नका लागि चल अचल सम्पूर्ण सम्पत्ति र बालबालिको संरक्षकत्व तत्काल सरकार मातहतमा ल्याउन पनि निर्देशन दिएको छ ।
समितिले संघीय संरचनाअनुसार बन्ने सम्पूर्ण बाल संरक्षण सम्बन्धि संस्थाहरुलाई बालबालिकामैत्री बनाउने, न्यूनतम मापदण्ड पुरा गरेर मात्र खोल्ने, स्वास्थ शिक्षा लगायतका न्यूनतम आधारभूत आवश्यकता पुरा गराउन नियमित रुपमा अगाडी बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।