चीनको वुहानमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

चीनको वुहानमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।

बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताउनुभएको हो । कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउनुहुँदै उहाँले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताउनुभयो ।

‘फिर्ता बोलाउने तयारी छ । तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन् । फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरुले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ । हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ । आर्मीले आफ्नो ब्यारेकमा कति सम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ । फिर्ता बोलाएपछि उहाँहरुलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताउनुभयो । उहाँका अनुसार चीनसँग जोडिएका नाकाहरुमा पनि निगरानी सुरु गरिएको छ । रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उहाँले बताउनुभयो ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुले आफुहरुको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन् । चीन लगायत विश्वका दर्जन बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);