काठमाडौं, १५ माघ । प्रत्येक स्वस्थ्य व्यक्तिले रक्तदान गर्नू सामाजिक दायित्व र कर्तव्य हो भने निशुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो भन्ने मुल नाराका साथ बुधबार १४ औं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस मनाईएको छ ।
यस अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाजले विभिन्न ठाउँमा रक्तदानका साथै विभिन्न कार्यक्रमको आयोजना गरेको छ । समाजका अनुसार काठमाडौंमा मात्र दैनिक ३ सय यूनिट रगतको माग छ ।
तर माग अनुसारको व्यवस्थापनमा निकै समस्या हुने गरेको छ । माग अनुसार नियमित संकलन गरीए पनि रगतको सधै अभाव हुने गरेको छ । १८ देखी ६५ वर्ष उमेरसमुहको रगत विरामीका लगि उपयोगी मानिन्छ ।
जुन रगतले मृत्यूको मुखमा पुगेको विरामीलाई जिवन प्रदान गर्छ । यहि चेतना बढेसंगै पछिल्लो समय रगत दान गर्ने युवा पुस्ताको जमात बढेको छ ।
सामान्यतया रक्तदान गरेको रगत ३५ दिनसम्म संचय गर्न सकिन्छ । स्वस्थ्य मानिसले हरेक ३ महिनामा रक्तदान गर्न मिल्ने चिकित्सकको भनाई छ । चिकित्सकका अनुसार एक स्वस्थ्य व्यक्तिले दिने रगतले ३ जना सम्मको ज्यान जोगाउन सकिन्छ ।
रक्तदानबाट कसैको जिवन बचाउँदाको महत्व फरक रुपमा बुझेको ३० पटक रगत दान गरेका विनोद महर्जनको भनाइ छ । रगतको माग पूर्तिका लागि विभिन्न पक्षबाट रक्तदानका माध्यमबाट संकलन हुँदै आएको छ । तर विरामीका लागि माग हुँदा भने निशुल्क पाइने रगत मोटो रकम तिरेर लिनुपर्ने बाध्यता छ ।