काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलका प्रमुख (आइजिपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनुभएको छ ।
१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै आइजिपी खनालले यस्तो बताउनुभएको हो ।
संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउनुहुँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिनुभयो ।
खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारवाही गरिएको समेत जानकारी दिनुभयो ।
आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफु सधै तयार रहेको उहाँले बताउनुभयो ।
१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।