काठमाडौँ, १ असोज । विकासको तीव्र गतिमा अघि बढिरहेको क्वालालम्पुरको चमकधमकमा जोकोही नेपालीका पनि आँखा तिलमिलाउँछन् । तर यही चमकधमकको मुन्तिर सलबलाइरहेका ‘दलाल’ बाट ठगिने नेपाली कामदारहरूको कथा चुक घोप्ट्याएजस्तो अध्याँरो छ ।
यहाँस्थित नेपालीले सञ्चालन गरेका होटल हुन् वा किराना स्टोर सबैमा एक–एक जना एजेन्ट भेटिन्छन् । थकित र गलित नेपाली देख्ने बित्तिकै तिनीहरू हात समात्न आइपुग्छन् र खानेबस्नेदेखि घर पठाइदिने सबै व्यवस्था मिलाइदिने बाचा गर्छन् । कतिसम्म भने दूतावासकै अगलबगलमा रहेका फोटोकपी सेन्टरदेखि रेस्टुराँसम्ममा छयापछ्याप्ती दलाल भेटिन्छन् ।
आफूलाई हारफासेको आधिकारिक एजेन्ट बताउने नेत्र केसी दूतावासकै छेवैमा फोटोकपी र फोटो स्टुडियो चलाएर बसेका छन् । केही समयअघि कामदार ठगेको लगायत आरोपमा मलेसियन प्रहरीबाट पक्राउ परेर छुटेका केसीले दूतावासको अगलबगलमा करिब एक सयको संख्यामा एजेन्ट सक्रिय रहेको बताए । उनी आफूले प्रतिकामदार २२ सय ६० र २३ सय ६० लिएर घर पठाउने काम गरिरहेको हाकाहाकी बताउँछन् । केसीले आफूले दुस्ख पाएका नेपालीको सेवा गरेर र खानेबस्ने तथा यातायात सहितको सबै शुल्क जोडेर त्यति रकम लिएको हिसाब सुनाए । उनले कतिपय अनधिकृत एजेन्टले कामदारसँग चार हजार रिंगिटसम्म असुलेको उल्लेख गर्दै भने, ‘म त कामदारलाई सेवा शुल्कको रसिद नै दिन्छु । तर धेरैजसो एजेन्टले घर पठाउने नाममा चर्को शुल्क असुुल्छन् र यातना दिएर पनि ठग्छन् ।
यो खबर कान्तिपुर पत्रिकामा प्रकाशित भएको हो ।