काठमाडौं, २७ पुस । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो ।
सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताउनुभएको थियो ।
यसअघि पुस १६ गते बुधबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । पुस ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय गरेपनि बैठक स्थगित हुँदै आएको छ । नेकपाले सभामुखको नाम टुंग्याउन नसक्दा प्रतिनिधि सभा बैठक अनिर्णयको बन्दी बनेको छ ।