जनकपुरधाम, २५ पुस । धनुषामा एक युवकलाई टिपरले किचेर हत्या गरेपछि धनुषाको ढल्केवरको अवस्था तनावग्रस्त बनेको छ । स्थानीय एक युवकको हत्याको विरोध गर्दै स्थानीयहरुको भीड प्रहरी उपर ढुँगामुढा गर्न थालेपछि भीडलाई नियन्त्रणको लागि २५ राउण्ड अश्रुग्याँस प्रहार गरेको ढल्केवर प्रहरीले जनाएको छ ।
युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रेका सयौंको सँख्यामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रणको लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाइएको छ ।
सोही झडपमा परी ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी जवान सचेन्द्र कुमार यादव घाईते भएका छन् । उनको च्यूडा (दाढी, मुखको तलको भाग) मा चोट लागेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले फालेको ढुँगा उनको अनुहारमा लागेको जनाइएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर भन्ने टोल नजिकै रहेको औहरी खोलामा बालुवा गिट्टी उत्खन्न उपर निगरानी राख्ने युवकलाई आज शुक्रबार विहान करिब ५ः०० बजे टिपरले कुल्चेर मारेपछि अवस्था तनावग्रस्त बनेको हो । त्यस खोलाबाट अवैद्य उत्खनन् रोक्नको लागि ती युवक दिनहुँ जसो निगरानी गर्दै आएकोमा आज विहान उनलाई हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
स्थानीय राम जीवन महतोको छोरा अन्दाजी बर्ष २४ को “दिलिप” भन्ने ओम प्रकाश महतोलाई कुल्चेर मारेको प्रहरीले जनाएको छ । महतो विभिन्न समयमा खोलाबाट अवैद्य रुपमा चोरी निकासी गरी उत्खन्न गर्ने टिपरहरु उपर निगरानी गर्दै सरोकारबाला सहित प्रहरीलाई खवर गर्दै आएका थिए ।
सोही क्रममा विहानै निगरानी गर्न खोला पुगेका महतोलाई ट्रिपरबालाले समातेर कुल्चेको हुन सक्ने अनुमान गरिएको छ ।