काठमाडौं, २० पुस । शहीद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल सोमबारबाट सुरु हुने भएका छन । लिगको चौंथो चरणको खेल गत बिहिबार सकिएपछि खराब मौषमको कारण शनिवार देखि शुर हुने भनिएका खेल दुई दिन पछि सारिएको हो ।
लगातारको वर्षाले दशरथसंग शालाको मैदान खेल्न योग्य नहुदा अखिल नेपाल फुटबल संघ एन्फाले खेल दुई दिन सार्ने निर्णय गरेको थियो ।पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन ।
पाचौं चरणको पहिलो दिन सोमवार दुई खेल हुनेछन् । पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित रहेको जावलाखेल एनआरटीलाई पराजित गर्ने दाउमा रहेको छ भने एनआरटी जावलाखेललाई पराजित गर्दै शीर्ष ६ भित्र स्थान बनाउने योजनामा रहेको छ ।
जावलाखेल ८ अंकसहित चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानको मनाङ मर्स्याङ्दीको १० अंक रहेको छ । आठौं स्थानको एनआरटीको ४ अंक रहेको छ ।
सोमबार हुने दोस्रो खेलमा अपराजित दुई टोली मछिन्द्र क्लब र साविक विजेता मनाङबीच खेल हुनेछ । जुन खेलले लिगको शीर्ष स्थानको टुंगो लगाउने छ ।