काठमाडौं, १९ पुस । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ ।
बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो ।
बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताउनुभयो । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन् ।
उहाँले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताउनुभयो ।
त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवा मार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताउनुभयो ।
तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताउनुभयो । यो अभियानले बीमको पहुँच बढ्ने समेत बताउनुभयो । सरकारले कृषि तथा पशुपंक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिंदै आएको छ ।