नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

passport nepal

काठमाडौं, १६ पुस । आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैजसो कारोबार अवैध मानिने खतरा सन्निकट छ ।

यस्तो अध्ययन गर्ने टोली अर्को अक्टोबरमा आउँदैछ । टोलीले आफ्नो त परै जाओस्, सीमा गाँसिएका देशको पनि अध्ययन गर्न पाउँदैन । आफ्नो राष्ट्रसँग कुनै कारोबार वा स्वार्थ नभएका देशका मानिस त्यसमा हुन्छन् । दशैंताका आउने टिमसँग कसरी ट्याकल गर्ने भनेर अर्थले कानुन सचिवको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त टोलीलाई हाम्रो प्रगतिको प्रमाणसहित विवरण दिनुपर्ने हुन्छ । अहिले लफडामा परेका देश पाकिस्तान, श्रीलंका, कम्बोडियामाथि ३६ वटा विकसित मुलुक सदस्य रहेको फाइनान्सीयल एक्सन टास्कफोर्सअन्तर्गत एशिया–प्रशान्त क्षेत्र हेर्ने टिमले निगरानी गरिरहेको छ । उनीहरुले विद्वानका कुरा सुनेर होइन, अपरेशन लेभलमै ४० वटा सूचकअन्तर्गत प्रगति वा अधोगति हेर्छन् ।

यसमा अरु मामिलामा जस्तो मिठो बोलेर वा स्वादिलो खुवाएर उम्किने सम्भावना हुँदैन । यही कुरालाई दृष्टिगत गर्दै नेपालले आतंककारी वा शंकास्पद लगानीमा संलग्न दुई मुद्दा अगाडि बढाएको छ । भारतको पूर्वोत्तर क्षेत्रमा सक्रिय आतंककारी संगठन उल्फाको लगानी भित्राउने निरञ्जन होजाईपछि पनि अरु दुई मुद्दा चलिरहेका छन् । २०७१ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुँदा हिन्दुधर्मको प्रचार गरिरहेका दुई बंगलादेशी हसाइम इस्लाम र रियल मियाँसँग साउन १९ गते प्रहरीले नेपाली नागरिकता भेटेको थियो । पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरुले बाँकेको कटरकुइया गाविस–४ बाट नागरिकता लिएका थिए ।

त्यसअघि बर्मेली नागरिक शंकरप्रसाद गुरागाईँ र भारतीय नागरिक सुरेश अधिकारीसँग पनि यसरी नै नेपाली नागरिकता भेटिएको थियो । भारततिर आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुले झापा जिल्ला प्रशासनबाट नागरिकता दिएका थिए ।

यही गिरोहका अरु ८ जनासँग पनि हाम्रो देशको नागरिकता थियो । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले यी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोमा गुरागाईँ र अधिकारीबाहेक सबै फरार छन् । उनीहरु भारतको आतंकवादी गतिविधिमा संलग्न प्रिपाक, युपिपिके, केसिपीजस्ता समूहमा आवद्ध थिए र उताको पैसा नेपालमा ल्याएर सम्पत्ति शुद्धिकरणको उद्देश्यले व्यवसायमा लगानी गरेको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);