काठमाडौं, १० पुस । ‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ।
पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छन्। पक्राउ परेका व्यक्तिको प्रहरीले थप परिचय खुलाएको छैन।
अनौपचारिक रूपमा प्रहरीले जानकारी गराएअनुसार मासिक धर्म शुरू नभएका र शरीरमा कुनै खत नभएका बालिकालाई बलि दिने प्रयोजनले लगिएको हुन सक्छ।
भारतमा यसअघि पनि यस्ता बालिकाहरुलाई बलि दिने प्रयोजनले लाने गरेको बुझिएकाले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरुले मोडलिङ पेसामा रहेकी श्वेता कार्कीलाई निसाना बनाएको जानकारी पनि प्रहरीले दिएको छ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।