काठमाडौं, २ पुस । काठमाडौँ उपत्यकामा नै पहिलो पटक अष्ट्रिच चराको व्यवासायिक उत्पादन हुन थालेको छ । भक्तपुर कटुञ्जेका २ युवाहरुले करिब ६० लाख लगानीमा ६ वटा अष्ट्रिचसहित विभिन्न जातका कुखुरा, हाँस, लौकाट आदि पालन गरी व्यवसाय शुरु गरेका हुन् ।
पछिल्लो सयम नेपालमा अष्ट्रिचको मासु खाने प्रचलन मौलाउँदै आएको छ । यसले धेरै नेपालीहरुलाई अष्ट्रिच पालनतिर आकर्षित गरेको छ । यसैक्रममा काठमाडौँ उपत्यकमा पनि अष्ट्रिच पालन शुरु भएको छ । भक्तपुर कुटुञ्जेका २९ बर्षीय राम सुवाल र ३० बर्षीय सन्दिप खनालले मिलेर अष्ट्रिच पालन शुरु गरेका हुन् । यो काठमाडौँ उपत्यकामा नै पहिलो अष्ट्रिच पालन फर्म हो ।
नेपालमा अष्ट्रिचको मासुमा आत्मनिर्भर बन्ने पहलका लागि आफुहरु अष्ट्रिच पालनमा आकर्षित भएको सन्दिप खनालले बताउनुभयो ।उनीहरुले १३ रोपनी जग्गा भाडामा लिएर हाल करिव ६० लाख लगानीमा ६ वटा अष्ट्रिच सहित विभिन्न जातका कुखुरा, हाँस, माछा, लौकाट, टर्की र बट्टाईको व्यवसायिक पालन गरिरहेका छन् । उनीहरुले बुटवलबाट अष्ट्रिचका ६ वटा चल्ला ल्याएका हुन् । हाल ८० किलो भएका यी अष्ट्रिजहरु २५० किलोसम्म पुग्ने राम सुवालको भनाई छ ।
बजारमा प्रतिकेजी १ हजार ४ सय देखि १ हजार ७ सय रुपैयाँ सम्ममा बिक्री हुने अष्ट्रिचले दाना र घाँस खाने गर्दछ । अष्ट्रिचलाई दैनिक तीन पटक दाना, घाँस र दुई पटक पानी खुवाउने गरिन्छ । यो फार्ममा ६ वटा अष्ट्रिच, १ सय लौकाट र ४ सय टर्की, १३ सय बट्टाई, १२ वटा खरायो, करीब ३ सय लोकल कुखुरा ३ सय वटा गिरीराज कुखुरा, ३ सय वटा जंगली कुखुरा, ५५ वटा हाँस र २५ सय माछा पालन गरिएको छ ।




