केशव र दीपकको सँगै दाहसंस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

केशव र दीपकको सँगै दाहसंस्कार

two artists

काठमाडौं, १ पुस ।  चलचित्र विकास बोर्डमा गत शनिबार निर्देशक समाजको नयाँ कार्यसमितिका लागि चुनावी माहोल थियो । दिउँसो अचानक कलाकार दीपक क्षत्रीको निधनको खबर आयो । पत्नी विमला र छोरी विदेशमा रहेकाले आइतबार पनि अन्त्येष्टि हुन सकिरहेको थिएन । क्षत्रीको अन्त्येष्टिको तयारीका लागि आइतबार दिनभर चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई जुटिरहेका थिए ।

बेलुका एक पारिवारिक जमघटमा सहभागी भई फर्कने क्रममा उनलाई बिसञ्चो भयो । राति ओम अस्पताल पुर्‍याइयो । तर त्यतिन्जेल ढिला भइसकेको थियो । डाक्टरले हृदयाघातले निधन भएको पुष्टि गरे । अन्ततः सोमबार साँझ पशुपति आर्यघाटमा कलाकार क्षत्रीको चितासँगै भट्टराईको शव एकसाथ जलिरहेको थियो । क्षत्रीको निधनपछि भट्टराईले फेसबुक वालमा एक दिनअघि मात्रै लेखेका थिए– ‘दीपकजी, तपाईंको आत्मशान्तिको कामना गर्दछु । हार्दिक श्रद्धाञ्जली ।’ सोमबार हजारौंको संख्यामा उपस्थित फिल्मकर्मी, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सर्वसाधारण क्षत्री र भट्टराईद्वयलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगे । प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मानस्वरूप अन्तिम सलामी दिएको थियो ।

क्षत्री र भट्टराईको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ट्वीटरमार्फत शोक सन्देश लेखे, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं ।’  प्रम ओलीले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
०२५ मंसिर ४ मा ओखलढुंगामा जन्मिएका भट्टराई काठमाडौं आएपछि विद्युत् प्राधिकरणमा जागिरे भए । त्यसै क्रममा उनको संगत निर्देशक तुलसी घिमिरेसँग हुन पुग्यो । घिमिरेले आफ्नो फिल्म ‘कोसेली’ मार्फत भट्टराईलाई कलाकारका रूपमा पहिलो ब्रेक दिएका थिए । ०४७ सालदेखि अनवरत फिल्म क्षेत्रमा सक्रिय भट्टराईले ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘दक्षिणा’, ‘बलिदान’, ‘ठूल्दाइ’, ‘लक्ष्मणरेखा’, ‘आफ्नो मान्छे’, ‘सुखदुःख’, ‘पाहुना’, ‘हामी तीनभाइ’, ‘तकदीर’, ‘छोडी गए पाप लाग्ला’, ‘मेरो एउटा साथी छ’, ‘मसान’, ‘परदेशी’, ‘फन्को’, ‘ऐश्वर्या’, ‘यात्रा’ लगायतका उल्लेखनीय फिल्ममा अभिनय गरेका छन् ।
फिल्म ‘आफ्नो मान्छे’ बाट निर्माणमा समेत हात हालेका भट्टराईले निर्देशक शिव रेग्मीसँग लामो समय सहकार्य गरेका थिए । भट्टराईले त्यसपछि ‘पाहुना’, ‘कर्मयोद्धा’, ‘देवरबाबु’, ‘छोडिगए पाप लाग्ला’ निर्माण गरेर सफलता पाए पनि त्यसपछि ‘सो सिम्पल’, ‘ब्रासलेट’ र गतवर्ष रिलिज भएको ‘यात्रा’ बाट आर्थिक क्षति बेहोरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणको जागिर छोडेर गत वर्षको चैतमा चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका भट्टराईले केही उल्लेखनीय काम गरेका थिए । उनले लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको पारदर्शी बक्सअफिस प्रणालीलाई देशभरका फिल्महलमा जडान गर्दै करको दायरामा ल्याउन सफल भएका थिए भने चलचित्र नीतिलाई ऐनका रूपमा ल्याउन सक्रियता देखाएका थिए । त्यसबाहेक इन्डोर फिल्म स्टुडियोको निर्माणमा जुट्नेदेखि नेपाललाई सुटिङ गन्तव्यस्थलका रूपमा विश्वसमक्ष चिनाउने गरी कार्यक्रमहरू अघि बढाएका थिए । भट्टराईको पार्थिव शवमा १४ वर्षीय छोराले दागबत्ती दिएका थिए ।
०१८ फागुन १८ मा जन्मिएका क्षत्रीले भट्टराईले भन्दा चार वर्षअघि नै फिल्म क्षेत्रमा कलाकारका रूपमा प्रवेश गरेका भए पनि संघर्ष भने सँगसँगै गरेका थिए । सजीव अभिनयका कारण बढी चिनिने क्षत्रीले पछिल्लो समय ‘छ माया छपक्कै’, ‘बुलबुल’, ‘सेतो सूर्य’, ‘झोला’ लगायतका फिल्ममा अहं भूमिकामा देखिएका थिए । क्षत्री लामो समयदेखि श्वास नलीमा मासु पलाउने समस्याका कारण पीडित थिए । शल्यक्रियापछि अभिनयमा फर्किएका क्षत्री शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेर घर फर्केकोमा शनिबार आफ्नै निवासमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए ।
मृतक दुवैको पार्थिव शवलाई पहिले चलचित्र विकास बोर्डमा राखिएको थियो, जहाँ उल्लेख्य फिल्मकर्मीको उपस्थिति रह्यो । आर्यघाटमा क्षत्रीको शवलाई भने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय झन्डा ओढाएका थिए ।
कान्तिपुरबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);