काठमाडौं, १९ मंसिर । राष्ट्रिय सभाको एक तिहाई सदस्यको दुई वर्षीय पदावधी सकिन लागेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडा लगायत १९ जनाको पदावधि सकिन लागेको हो । खतिवडाको स्थानमा भने राष्ट्रपतिले मनोनित गर्नुहुनेछ भने अन्य १८ जनाको भने निर्वाचन हुनेछ । निर्वाचनका लागि निर्वाचन आयोग तयारीमा जुटेको छ । राष्ट्रिसभा सदस्यको पदावधि सकिनु ३५ दिन अघि नै निर्वाचन हुनुपर्ने कानुनी प्रावधान छ ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यको २ वर्षे, ४ वर्षे र ६ वर्षे कार्याकाल हुन्छ । कस्को कार्यकाल कति भनी गोलाप्रथाबाट पदाबधि निर्धारण गरिन्छ । ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाइ अर्थात १९ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।
राष्ट्रियसभाको सदस्यको समय सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । कानूनमा रहेको ब्यवस्था अनुसार आगामी माघ १५ गतेभित्र राष्ट्रिय सभाको रिक्त रहने पदका लागी निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
उक्त व्यवस्थालाइ मध्यनजर गर्दै रिक्त सदस्यको पदपूर्तिका लागी निर्वाचनका निम्ती संसद् सचिवालयबाट निर्वाचन आयोगलाई दुइ साता अघि पत्र पठाइसकेको संघिय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
दुई साता अघि संघिय संसद सचिवालयबाट रिक्त हुने राष्ट्रिय सभा सदस्यका लागी निर्वाचन लागी पत्र प्राप्त गरेको निर्वाचन आयोग आन्तरीक छलफलमा जुटेको छ ।माघ १५गते भित्र निर्वाचन सक्ने गरी तयारी थालीएको र आवस्यक परामर्शपछी निर्वाचनको मिति तय गर्ने निर्वाचन आयोगको तयारी छ ।
कुल ५९ जना राष्ट्रियसभा सदस्य मध्य ५६ जना निर्वाचनबाट आएका छन् भने ३ जना मन्त्री परिषद्को निर्णयबाट राष्ट्रपतिले मनोनयन गर्ने प्रचलन रहेको छ । डा युवराज खतिवडा, सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा लगाएतका सदस्यहरुको पदावधि फागुन २० गते सकिँदै छ ।
अर्थमन्त्री समेत रहनुभएका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । अन्य १८ को हकमा भने गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुने व्यवस्था रहेको छ ।





