एजेन्सी, १६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्को तल्लो सदनमा हुने महाअभियोग सुनुवाइमा भाग नलिने भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले महाअभियोग सुनुवाइमा राष्ट्रपति ट्रम्प र उनका वकिलहरु उपस्थित नहुने स्पष्ट गरेको संचार माध्यमहरुले जनाएका छन् ।
ह्वाइट हाउसका कानुनी सल्लाहकार प्याट सिपोलोनीले संसद्को न्यायपालिका सम्बन्धी समितिलाई लेखेको पत्रमा निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले सुनुवाईमा भाग लिन नसक्ने उल्लेख गरेका छन् । उक्त पत्रमा संसद्को समितिले महाअभियोगको अनुसन्धानका क्रममा पूर्णरूपमा नियमित प्रकियालाई पालना नगरेको र आधारभूतरूपमा निष्पक्षता सुनिश्चित नगरेको उल्लेख छ ।
अघिल्लो हप्ता समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने या गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए । ह्वाइट हाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको समेत बताएको छ । त्यो सुनुवाइ राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीबीच जुन महिनामा भएको टेलिफोन कुराकानीबारे केन्द्रित हुनेछ ।
ट्रम्पले युक्रेनका राष्ट्रपतिसंग आफना प्रतिस्पर्धी जो वाइडेनका बारेमा युक्रेनमा रहेको सम्पत्ति छानबिन गर्न दवाब दिएको आरोप लाग्दै आएको छ । अमेरिकामा सन २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा वाईडेन ट्रम्पका संभाबित प्रतिस्पधीृका रुपमा रहेका छन ।