नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति अर्थमन्त्री सन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति अर्थमन्त्री सन्तुष्ट

अर्थमन्त्री डाक्टर युवराज खतिवडा

काठमाडौं, ३० कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति सन्तुष्टि व्यक्त गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुुनिक, प्रतिस्पर्धी र एक्काईशौं शताब्दीको वाणिज्य बैंकहरुमा हुनुपर्ने गुणले युक्त भएको उल्लेख गर्दै त्यसका कामकार्वाहीप्रति सन्तुष्टि व्यक्त गर्नु भएको हो ।

बैंकको ८३ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरु आधुनिक प्रविधिमैत्री हुँदै गएकोमा खुुसी पनि व्यक्त गर्नु भयो ।

‘एक समय आफू गभर्नर हुँदा नेपाल राष्ट्र बैंकमा अनलाईन सेवा सुरु गर्ने निर्णय गर्दा कर्मचारीहरुले विद्रोह नै गरेका थिए,’ अर्थमन्त्री खतिवडाले भन्नु भयो,‘ त्यस अवस्थालाई हेर्दा बैंकहरुले हाल प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको देखिन्छ ।’ अर्थमन्त्री खतिवडाले कर्जा प्रवाहमा भने सन्तुलित व्यवहार गर्न पनि सबै बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बंंैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भयो ।

मुलुकको समृद्धिका लागि विनाधितो विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेपनि त्यसलाई बैंकहरुले प्रभावकारी ढंगले अघि बढाउन नसकेकोमा उहाँको असन्तुष्टि छ ।

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई विनाधितो प्रवाह गर्ने नीतिगत व्यवस्था गरेपनि सो अनुसारको काम हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै आएको छ ।