दशैं मनाउन भारतबाट घर फर्किने नेपाली सीमा क्षेत्रमा लुटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुष्कर भट्ट, २८ भदौ, कञ्चनपुर ।दशैं मनाउन भारतबाट मजदुरी गरेर घर फर्किने नेपालीहरुबाट सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीबाट लुटिन थालेका छन् ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत कञ्चनपुरको बनवासा–गड्डाचौकी नाका भएर घर फर्किने नेपालीलाई सीमा क्षेत्रमै रकम असुली गर्ने गरिएको हो ।

भारतको हरियाणास्थित जमुना नगरबाट काम गरेर दशैं मनाउन फर्किनुभएका अछामका राजु भण्डारीले बनवासादेखि महेन्द्रनगर पुग्दा १६ सय रुपैयाँ बुझाउनुपरेको बताउनुभयो ।

त्यस्तै, भारतको रुडकीबाट घर आउँदै गर्नुभएका डोटीका दिलबहादुर साउदले पनि सीमा क्षेत्रमा भारतीय प्रहरीबाट जबर्जस्ती रकम असुली भएको दुखेसो गर्नुभयो ।

खेतीपाती सकेर मजदुरी गर्न भारत पसेका र लामो समयदेखि भारतमै मजदुरी गर्दै आएका नेपालीहरु चाडपर्व नजिकिँदै गर्दा घर फर्किने क्रम बढेको छ । वर्षभर मजदुरी गरेर चाडपर्वमा घरपरिवारसहित फर्किनेहरूबाट वनवासा पुलपारि भारतीय प्रहरी र भन्सारका कर्मचारीले जबर्जस्ती रकम असुल गर्ने गरेका गरेका छन् ।

तर, स्थानीय प्रशासन भारतीय कर्मचारीको प्रवृत्ति रोक्न असफल देखिएको छ । कञ्चनपुर प्रशासनले भने हरेक पटक बस्ने सीमा बैठकमा नेपालीमाथि हुने गरेका ज्यादती रोक्ने विषयमा छलफल भए पनि कार्यान्वयनमा नआएको जनाएको छ ।

सीमा क्षेत्रमा आफ्ना नागरिक लुटिरहँदा स्थानीय प्रशासनले भारतले बेवास्ता गरेको जवाफ दिएरमात्र पुग्दैन । नागरिकको सुरक्षाका लागि सरकारस्तरबाटै कूटनीति पहलका लागि पनि स्थानीय प्रशासनले कदम चाल्न आवश्यक छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);