एजेन्सी, २७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिएको हो ।
अन्तर्राष्ट्रिय संचार माध्यम सिन्ह्वाका अनुसार दिल्लीमा हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको छ । एक्युआई ५ सय पुग्नुलाई संकटकालीन वातावरण मानिन्छ । यो भारतमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो ।
हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायु सबैभन्दा धेरै प्रदुषित बनेको छ । वायु प्रदुषणका कारण जनजीवन अस्तव्यस्त बन्नुका साथै दैनिक आवश्यकताका वस्तु परिपूर्तिमा पनि समस्या पर्न थालेको छ ।
बढ्दै गएको प्रदुषणलाई घटाउन भारत सरकारले दिल्ली क्षेत्रमा निर्माणका सबै काम बन्द गर्दै आएको छ भने सवारी साधन पनि जोरविजोर प्रणालिमा संचालन गर्दै आएको छ । तर पनि प्रदुषण घट्ने छाँटकाँट देखिएको छैन ।