काठमाडौं, २६ कात्तिक । इलाम जिल्लाको सीमा क्षेत्रमा भारतीय पक्षले दशगजाभित्रै आएर संरचना बनाइरहेको छ । सीमा चेकपोस्टदेखि एसएसबीका क्याम्पसम्म दशगजामै छन् । एसएसबीले सीमा विवाद झिक्दै नेपाली भूमिमा हुने विकास निर्माणका काममा समेत अवरोध गर्ने गरेको छ ।
कालपोखरी, मानेभन्ज्याङ, गुफापातल, छब्बिसेलगायत स्थानमा दसगजा मिचिइसकेको छ । सीमानाका पशुपतिनगरको फाटकस्थित भारतीय चेकपोस्ट दशगजामै छ । सडक, एसएसबीका क्याम्प पनि भारतले एकलौटी रूपमा बनाइरहेको छ । ‘भारतीय पक्षले सीमा वास्ता नगरी पूर्वाधार बनाउने अनि नेपाली पक्ष टुलुटुलु हेर्नुपर्ने अवस्था छ,’ सन्दकपुरका पेमाडन्डु शेर्पाले भने ।
जिल्लाको अधिकांश सीमा क्षेत्रमा भारतको सिंहलीला नेसनल पार्क छ । वन विभागले वन मासेर मासेर संरचना बनाउन नदिने भन्दै भारतले दशगजा मिच्न थालेको हो । यसअघि हिले, पुलखोलालगायतमा पनि सीमा अतिक्रमण भएको थियो । तर, स्थानीयस्तरबाट निकै प्रतिवाद भएपछि भारतीय पक्ष पछि हटेको थियो ।
सीमामा भारतले ३ र ४ किलोमिटरको अन्तरमा सुरक्षा फौज राखेको छ । नेपालतर्फ भने पशुपतिनगरमा एउटा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) मात्र छ ।
छब्बिसे, मानेभन्ज्याङ र सन्दकपुरमा सशस्त्रको बीओपी क्याम्प बस्ने भनिए पनि अझै बसिसकेको छैन । मानेभन्ज्याङमा सीमा प्रहरी चौकी, जौवारी र कालपोखरीमा प्रहरी चौकी छन् । स्थानीयले भारतले जसरी नै धेरै स्थानमा सशस्त्र प्रहरी पोस्ट राख्न माग गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।