काठमाडौं, २० कात्तिक । जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ ।
उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन् । मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा रु एक हजार २०० भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उहाँको भनाइ छ ।
मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत रु एक हजारदेखि एक हजार ५०० भाडा तिर्नुपरेको गुनासो यात्रुको छ । टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन् । कसैलाई भने राम्रो नहुने चेतावनी जिप व्यवसायीले दिने गरेका प्रहरीको दाबी छ । प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण यात्रुले बाध्य भएर भनेको भाडा तिर्नुपर्ने अवस्था छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापेको छ ।