अलैँची सुकाउनलाई किसानलाई परम्परागत भट्टी कै मोह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अलैँची सुकाउनलाई किसानलाई परम्परागत भट्टी कै मोह

alaichi illam

टिका खतिवडा
इलाम, १९ कात्तिक । इलामका किसानहरु अझैपनि अलैँची सुकाउनलाई परम्परागत भट्टीको नै प्रयोग गरिरहेका छन् । आधुनिक भट्टीहरु बजारमा भएपनि अलैँची किसानहरुमा परम्परागत भट्टी कै मोह देख्न सकिन्छ ।

इलाम लगायत पूर्वी पहाडका किसानहरुलाई अझैपनि अलैँची सुकाउन परम्परागत भट्टीकै प्रयोग गर्नुपर्ने बाध्यता छ । कृषिमा विभिन्न आधुनिक उपकरणहरुको प्रयोगसंगै आधुनिकता ल्याउने प्रयासहरु भईरहेको भएपनि प्रभावकारी बन्न सकेको छैन । बढी लागत पर्नाले किसानले आधुनिक भट्टी किन्न नसकेको र आधुनिक भट्टीमा भन्दा किसानको विश्वास परम्परागत भट्टीमा नै बेसी भएको हुनाले उनीहरु परम्परागत भट्टी मै निर्भर छन् ।

धुवाँ लागेको अलैँची लामो समयसम्म टिक्ने भएकाले र आधुनिक भट्टीमा अलैँची सुकाउने दक्ष जनशक्ति नभएकाले पनि परम्परागत भट्टी चलाउनु परेकोको किसानको भनाई छ ।

हुनत नेपालबाट हाल भारत तर्फ परम्परागत भट्टीमा सुकाइएका धुवाँधुलो सहितको अलैँची नै निकासी भइरहेको छ । तर परम्परागत भट्टीमा सुकाइएका अलैँची आधुनिक भट्टीमा सुकाइएको अलैँचीको तुलनामा गुणस्तर कम हुने कृषि प्राविधिकहरुको भनाई छ । सुधारिएको भट्टीमा अलैँची सुकाउदा कम समयमै सुक्ने, धुवाँ नहुने, दाउरा र समयको बचत हुने बताइन्छ ।

alaichi illam1

त्यसैले कृषकहरुलाई आधुनिक भट्टी प्रयोगका लागि प्रेरित गर्न विभिन्न कार्यक्रमहरु ल्याएको कृषि ज्ञान केन्द्र इलामका प्राविधिक गणेश राईले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र इलामले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आधुनिक अलैँची भट्टीमा ३० लाख लगानी गर्ने भएको छ । यसबाट ७५ प्रतिशत अनुदानमा किसानले ३० वटा सुधारिएको भट्टी पाउने भएका छन् । सुधारिएको भट्टीमा एक पटकमा दुइ सय किलोसम्म अलैँची सुकाउन मिल्छ ।

अलैँची सुकाउन परम्परागत पद्धति अपनाउनाले कम गुणस्तरीय अलैँची बजारमा जाने गरेको छ । अलैँची गे्रडिङ गरि बजारमा पुर्याउनु पर्ने बाध्यता छ । त्यसैले किसानहरुलाई सुधारिएको भट्टी अर्थात् आधुनिक भट्टीको फाइदाहरु तथा प्रयोग गर्ने तरिकाको बारेमा विस्तृत जानकारी दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);