काठमाडौं, १९ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रत्येक स्थानीय तहमा महिला बालबालिका शाखा स्थापना गरी सक्रिय बनाउने बताएकी छिन् । जिल्लामा महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै सो अधिकार स्थानीय तहमा पुगेको र प्रत्येक तहले शाखा स्थापना गरी पहिलेको कार्यालय जसरी नै काम गर्ने वातावरण बनाउन सरकार लागिरहेको उनको भनाई छ ।
सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले लैंगिक हिंसा न्यूनिकरण र बालबालिकाको क्षेत्रमा तल्लो तहबाटै काम गर्नुपर्ने भएकाले यो विषयमा सरकारले गृहकार्य गरिरहेको बताइन् । ‘पहिलेको कार्यालय खारेज हुँदा जिल्लामा काम गर्न केही समस्या त छनै, तर अब प्रत्येक स्थानीय तहमा पुगेका सो क्षेत्र हेर्ने कर्मचारी सक्रिय बनाएर तहबाटै काम गर्ने वातावरण संघिय सरकारले बनाउँछ,’ उनले भनिन् ।
लैंगिक हिंसा न्यूनिकरण र बालबालिकाको क्षेत्रमा सरकारले अभियाननै सञ्चालन गरेर काम गरिरहेको बताउँदै उनले भनिन् , ‘यस अभियान सफल बनाउन प्रत्येक स्थानीय तहबाट काम हुन आवस्यक छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।