काठमाडौं, १८ कात्तिक । कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीका जगनाथ पकुवालको होटलमा शुद्ध दूध पिउनेहरूको संख्या बढ्दो छ । सुन्द्रावतीकै कटुवाचौर बजारमा खाजा र नास्ताको लागि धेरैको रोजाइमा पर्ने पकुवाल होटलमा केही वर्ष अघिसम्म मासु र रक्सी खोजी गर्नेहरू आजभोली दूधदहीको खोजी गर्छन् ।
पकुवाल होटलमा मात्र होइन यहाँका सबै होटलमा मासु र रक्सिभन्दा दूधदहीकै माग बढेको छ । दूधदहीको माग बढ्दै गएपछि मासु र रक्सिको व्यापार समेत घट्दै गएको छ । “२ वर्ष अघिसम्म दैनिक १० किलोसम्म मासु बिक्री हुन्थ्यो,” होटल व्यवसायी पकुवालले भने, “आजभोली त ३ किलो पनि जान हम्मेहम्मे पर्छ, त्यही अनुसार मदिराको व्यापार पनि घटेको छ ।”
विगतमा विहानै देखि होटलमा स्थानीयहरू पनि मासु र रक्सिको खोजीमा आउँनेहरू अहिले दूध पिउन आउने उनलेको भनाई छ । काठमाडौं र चरिकोट हुँदैं सिंगटी, लामाबगर आवत जावत गर्नेहरू खाजा नास्ताका लागि यही ठाउँ रोकिन्छन् । खाजा नास्तामा धेरैले विगतमा मासु र मदिरा नै माग गर्नेहरू अहिले सुन्द्रावतीको दूध पिउन रुचाउँछन् ।
मासु र मदिरा व्यापार घट्दा यहाँको व्यापारै घटेको होइन । स्थानीय व्यापारीहरू अहिले उपभोक्ताको रोजाइन मासु र मदिराको सट्टा दूधदहीमा सरेको बताउँछन् । दूधको माग बढ्नुमा स्थानीय स्तरमा दूध उत्पादन बढ्नु पनि हो । एक वर्षयता स्थानीयस्तरमा दूध उत्पादन बढेको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।




