बैतडी, ९ कात्तिक । सदरमुकाम खलंगाबाट दुई घण्टाको दूरीमा पर्छ बैतडी–डडेल्धुराको सिमाना अनारखोली । त्यहाँबाट भित्र करिब दुई घण्टा कच्ची सडक पार गरेपछि पाटन नगरपालिका–१ को विकट गाउँ डँसिली पुगिन्छ । त्यही गाउँको एउटा पुरानो घरमा रहेको चिया पसलमा रामसिंह बोहरा चुलो बाल्दै थिए ।
रामसिंह जसले बैतडीको चर्चित बलात्कार घटनामा पीडित भएकी छोरी पूजाका लागि ८ वर्षसम्म निरन्तर न्यायको लडाइँ लडिरहे । आफूलाई भेट्न कान्तिपुरकर्मी आउने खबर पाएकाले शुक्रबार उनी कुरेर बसेका थिए । पुग्नेबित्तिकै मुसुक्क हाँस्दै स्वागत गरे । ‘ढिलै भए पनि न्याय पाइयो,’ उनले भने, ‘बिहान गाउँकै एक जनाले सुनाए, छोरीले न्याय पाउने भई रे !’
उनका दुई घर रहेछन् । एउटा पसल नजिकै, अर्को अलि तल । ‘म बिहानै आइहालेँ, घर गएर छोरीलाई भेट्नै पाएको छैन,’ उनले भने, ‘उसले थाहा पाई कि पाइन ।’
घरसम्म जाँदा करिब १५ मिनेट पैदल यात्रामा उनले आफ्ना पीडा एकोहोरो सुनाए । ०६८ सालमा बुबाको वार्षिक श्राद्धकै दिन छोरीमाथि घटना भएको उनले सम्झिए । ‘बुबाको वार्षिकीकैदिन छोरीको उपचारका लागि काठमाडौं जानुपर्यो,’ उनले भने, ‘धपेडीले म पनि बिरामी परेको थिएँ तर भाग्यले बाँचेँ ।’
घर पुग्नासाथ उनले छोरीलाई सोधे, ‘थाहा पायौ त सर्वोच्चको फैसला ?’ प्रश्न नसकिँदै पूजाले भनिन्, ‘हिजै साँझ वकिलले सुनाइसक्नुभएको थियो ।’
सबैले थाहा पाएको, पहुँचमा पुगिसकेको घटनामा न्याय पाउन यतिका वर्ष लाग्यो, बोल्नै नसक्ने दिदीबहिनीको अवस्था कस्तो होला भनेर सोच्ने गरेको उनले बताइन् । उनी बीएल चौथो वर्षमा पढ्दै छिन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।