काठमाडौं, ८ कात्तिक । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दावी गर्नु भएको छ ।
शुक्रबार बिराटनगर विमान स्थलमा संचारकर्मीसंग कुराकानी गर्दै पोखरेलले आवश्यक्ता अनुसार पार्टीका जोकोही नेताहरुको पनि जिम्मेवारी हेरफेर हुन सक्ने उल्लेख गर्दै ओली र दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भने नभएको बताउनु भयो । सत्तारुढ नेकपा सचिवालयका सदस्य समेत रहनु भएका कार्यबहाक प्रधानमन्त्री पोखरेलले आलोपालो भन्ने कुरा नेकपालाई संस्थागत र विधिवत रुपमा जानकारी नभएको दावी गर्नुभयो ।
पोखरेलले दुई अध्यक्षबीच कुनै विवाद नभएको पनि पटकपटक दोहोर्याउनु भयो । जीवित पार्टीमा कतिपय विषयमा बहस हुने भएपनि संचार माध्याममा आएजस्तो दुई अध्यक्षबीच विवाद नभएको कार्यबहाक प्रधानमन्त्री पोखरेलको दावी छ ।