काठमाडौं, ८ कात्तिक । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको व्यवसायमैत्री वातावरणसम्बन्धी प्रतिवेदन (डुइङ बिजनेस २०२०) मा नेपालले पहिलेभन्दा उल्लेख्य सुधार गरेको छ। १ सय ९० देशमध्ये यसअघि ११० औं स्थानमा रहेको नेपाल यसपटक १६ स्थान अगाडि सरेर ९४ औंमा पुगेको छ।
विश्व बैंकले व्यवसाय सुरु गर्न, निर्माण अनुमति लिन, सम्पत्ति दर्ता, कर्जा प्राप्ति, वैदेशिक व्यापारको सहजता, करार कार्यान्वयन, विद्युत् आपूर्ति, साना लगानीकर्ताको संरक्षण, कर भुक्तानी, टाट उल्टने समस्या समाधान, कामदारसम्बन्धी नियम र सार्वजनिक खरिदसम्बन्धी नियमजस्ता १२ सूचकका आधारमा देशहरूको श्रेणी निर्धारण गरेको हो। नेपालले समष्टिगत रूपमा अघिल्लो वर्षको ५९.७ स्कोरको तुलनामा ६३.२ स्कोर प्राप्त गरेको छ।
पाँच सूचकमा सुधार भए पनि विगतका कमजोर सूचकमा नेपालले सुधार गर्न सकेको छैन। लगानी आकर्षित गर्न महत्त्वपूर्ण मानिएका प्रमुख सूचक अझै कमजोर देखिएको पूर्वअर्थसचिव रामेश्वर खनालले बताए। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।