काठमाडौं, ४ कात्तिक । राजधानीमा जारी महिला फ्रेन्चाइन लिग क्रिकेट डब्लुसीएलको लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार ललितपुर फाल्कोन्स विरुद्ध जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको पोखरा पल्टनले १७ दशमलव २ ओभरमा चार विकेट गुमाएर पुरा गरेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर फाल्कोन्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनायो । ललितपुर फाल्कोन्सका ममता चौधरीले ५२ तथा कबिता जोशीले ३१ रन बनाइन् ।
पोखराका लागि सीता रानामगरले दुई विकेट लिइन् । जवाफमा कबिता कुवँरको ६१ र विन्दु रावलको ४० रनसंगै पोखरा पल्टनले सहज जित हात पारेको हो । प्रतियोगिताबाट बाहिरिइसकेका यी दुई टोली बीच लीग चरणको अन्तिम खेल पोखरा पल्टनले जितेको हो ।