काठमाडौं, ३ कात्तिक । क्याट क्विन्स काठमाडौं राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल क्रिकेटको प्ले अफमा पुगेको छ । आइतबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । उनको यो दोस्रो अर्धशतक हो ।
ललितपुरकी सम्झना खड्का र अलिसा केसीले १–१ विकेट लिईन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
ललितपुरका लागि रोशनी बोहराले २९, नेरी थापाले २२ र ममता चौधरीले १५ रन जोडिन् । काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिईन् । जितसँगै काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा छ । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । चितवन राइनोज यसअघि नै प्ले अफमा पुगिसकेको छ ।