काठमाडौं, ३ कात्तिक । नेपाल भ्रमण बर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघ एनआरएनएबीच हरेक गैर आवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनएका अध्यक्ष कुमार पन्तबीच उक्त समझदारी भएको हो । १७ बुँदे समझदारी पत्रमा गैर आवासीय नेपालीले पठाउने साथीको रेकर्ड एनआरएनए र सचिवालय दुबैले राख्ने लगायतका बुँदाहरु उल्लेख छन ।
कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दुतावासहरुमा ‘भ्रमण वर्ष प्रवद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ ।




