काठमाडौं, २ कात्तिक । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताउनुभएको छ । हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उहाँले भ्रमणको सफलता संगै खतरा पनि बढेको बताउनुभएको हो ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता नेपालले सबै ठुला राष्ट्रका आ-आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफुलाई जोगाईराख्नु मुख्य चुनौती भएको बताउनुभयो । उहाँले नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान र आन्तरिक मामिलामा हस्तक्षेप हुन नदिने सुनिश्चित गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता नेपालले गैर आवासिय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन पनि आग्रह गर्नुभयो । उहाँले दोहोरो नागरिकता र राजनीतिक अधिकार खोजीको सुविधा गैर आवासीय नेपालीका लागि असंभव रहेको बताउनुभयो ।