बारा, ३० असोज । बाराको गढीमाई मेला सञ्चालनमा स्थानीय तह र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच विवाद देखिएको छ । स्थानीय सरकार नहुँदा बनेको विकास समितिले स्थानीय तह बनेपछि पनि आफ्नै ढंङ्गले मेला तथा जात्रा सञ्चालन गर्न लागे पछि स्थानीय तहले हस्तक्षेप गरी मेला जात्रा सञ्चालन गर्न लागेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बिपरीत गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले गढिमाई मेला लगाउने निर्णय गरे पछि आफुहरु विरोधमा उत्रनु परेको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो ।
नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी ऐन बमोजिम आफुले मेला जात्राको व्यवस्थापन गर्ने जानकारी दिएको हो । पछिल्ला समय स्थानीय तह नहुँदा मेला व्यवस्थित गर्न गठित गैर सरकारी संस्थाले स्थानीय सरकारको निर्णय नमानी एकतर्फी रुपमा अघि बढेको नगरपालिकाको आरोप छ ।