काठमाडौंद्वारा पोखरा पल्टन ८२ रनले पराजित
काठमाडौं, ३० असोज । राजधानीमा जारी महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग डब्लुसीएलमा क्याट क्विन्स काठमाडौंले पहिलो जित निकालेको छ ।
बिहिबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले दिएको १सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटियो ।
पोखराका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १सय ५२ रन बनाएको थियो । काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ८३ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
यस्तै काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन । जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा बुधवार काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो । प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।