काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि म्यानमारको चारदिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जान लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ । साथै उहाँले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । साथै राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । साथै राष्ट्रपति भण्डारी म्यानमार बाट कात्तिक २ मा जापान प्रस्थान गर्नुहुनेछ । उहाँ त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।