एजेन्सी, २३ असोज । टर्कीले सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको केही घन्टामा स्थलगत आक्रमण समेत सुरु गरेको छ । टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला थालेको अधिकारीहरुले जनाएका छन् ।
टर्कीले सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको जनाएको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआनले सैन्य कारबाहीमार्फत् कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीको बासस्थान सुरक्षित गर्न लागेको बताएका छन् । टर्कीले थालेको उक्त हमलाको सर्वत्र विरोध भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् । अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको छ । अमेरिकाको सैन्यशक्ति फिर्ता बोलाउने निर्णयले टर्कीलाई आक्रमणको बाटो खुलेको बताइएको छ ।